काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाउँदै सरकारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरेको आरोप लगाएकी छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले बयानका लागि जहिले पनि उपस्थित हुन सक्ने व्यक्तिलाई एकजनाको बयानकै आधारमा पक्राउ गर्नु न्यायिक प्रक्रियाको दुरुपयोग भएको दाबी गरिन्। सरकारले सुशासनको नाममा विपक्षी दलका नेताहरूलाई लक्षित गर्दै राजनीतिक प्रतिशोध साँध्न खोजेको उनको आरोप थियो।

उनले सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री र अहिले पूर्वअर्थमन्त्री विष्णु पौडेलसम्मलाई अनुसन्धानको दायरामा ल्याएको उल्लेख गर्दै, “एकजनाको बयानकै आधारमा नेता पक्राउ गर्नु नै सुशासन हो? ” भन्दै प्रश्न गरिन्।

झाँक्रीले आफ्नै दलका नेतामाथि लागेका फौजदारी अभियोग फिर्ता लिने तर विपक्षी नेतामाथि कडा कारबाही गर्ने प्रवृत्तिले सरकारको दोहोरो मापदण्ड उजागर भएको दाबी गरिन्। साथै, राजनीतिक प्रतिस्पर्धी, व्यवसायी र नागरिक समाजका प्रतिनिधिमाथि समेत दबाब सिर्जना गरेर सरकार आलोचनाका आवाज दबाउन लागेको आरोप लगाइन्।


नेपालमा ‘बङ्गलादेश र पाकिस्तान शैलीको लोकतान्त्रिक अभ्यास’ गर्न खोजिएको टिप्पणी गर्दै झाँक्रीले कानुनी संयन्त्रलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिइन्।