काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिँदै जाँदा प्रतिनिधि सभाको बैठक पटक–पटक स्थगित भएको विषयले राजनीतिक बहस चर्किएको छ। यही विषयलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र संसद् नेतृत्वमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन्।
साम्पाङले संसद्को बैठक कुनै राजनीतिक दलको आन्तरिक महाधिवेशनका कारण प्रभावित हुनु लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको टिप्पणी गर्दै देश ठूलो हुन्छ कि पार्टी ? भन्ने प्रश्न सार्वजनिक रूपमा उठाएका छन्। उनले रास्वपाको पदाधिकारी निर्वाचन नसकिएकै कारण बैठक दुई पटक सारिएको भन्दै यसको विरोध गरेका छन्।
व्यंग्यात्मक शैलीमा सभामुख डिपी अर्याललाई सम्बोधन गर्दै उनले, अब एकैचोटि १९ गते मात्रै बैठक राख्नुहोस्, म पनि दार्चुला गएर फर्किन्छु, भन्दै कटाक्ष गरेका छन्। साम्पाङको भनाइले संसद्को नियमित कार्य सञ्चालनलाई दलहरूको आन्तरिक कार्यक्रमले प्रभावित पार्न नहुने बहसलाई थप बल दिएको छ।




































