काठमाडौं । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा पत्रकारहरूको योगदानको सम्मान गर्न रोटरी प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक गोल्यानले रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनतपूर्वक पत्रकारिता गरिरहेका उत्कृष्ट पत्रकारहरूलाई प्रोत्साहन गर्दै सम्मान गर्नु रहेको बताए । उनले रोटरीले विगतदेखि नै पत्रकारहरूलाई सम्मानित गर्दै आएको उल्लेख गर्दै यो कुनै एक व्यक्तिको निर्णय नभई संस्थाका सम्पूर्ण सदस्यहरूको सामूहिक सहभागितामा प्रदान गरिने सम्मान भएको स्पष्ट पारे ।उनले भने, ‘रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनत गरेर काम गरिरहेका उत्कृष्ट पत्रकारहरूलाई अगाडि बढाउन र सम्मान गर्न हो ।

रोटरीले लामो समयदेखि पत्रकारहरूलाई सम्मानित गर्दै आएको छ । रोटरी एउटा अन्तर्राष्ट्रिय संस्था हो, जहाँ प्रदान गरिने सबै सम्मान संस्थाका सम्पूर्ण सदस्यहरूको सहभागिता र सहमतिमा वितरण गरिन्छ । यो कसैको व्यक्तिगत पुरस्कार होइन ।’ यसैगरी, उनले रोटरीले समाजसेवालाई नै आफ्नो प्रमुख उद्देश्य बनाएर काम गरिरहेको बताए । उनले विगतमा रोटरीलाई धनी व्यक्तिहरूको संस्था भन्ने धारणा रहे पनि अहिले त्यसमा परिवर्तन आएको बताए ।

उनले भने, ‘सबैले मिलेर तपाईंहरूलाई सम्मान गरेका छौं । रोटरीले समाजसेवालाई केन्द्रमा राखेर काम गरिरहेको छ । पहिले रोटरीलाई धनाढ्यहरूको संस्था भन्ने गरिन्थ्यो, तर अहिले यो समाजसेवी संस्था हो भन्ने बुझाइ स्थापित भएको छ । हामीले गर्ने सबै सेवामूलक काम रोटरीकै स्रोतबाट सञ्चालन हुन्छ ।’

रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा ७ जना सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ ।