चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान सुरु भएको छ। उम्मेदवारहरूको अन्तिम प्रक्रिया पूरा भएपछि प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गर्न थालेका हुन्।

सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा.स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसपछि बाँकी रहेका पदाधिकारी चयनका लागि मतदान भइरहेको हो।

महामन्त्री पदका केही आकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि अब पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। महिला उपसभापतिमा डा. तोसिमा कार्की र सोबिता गौतम आमनेसामने छन्।

यस्तै, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीसहित बाँकी पदका लागि पनि निर्वाचन जारी छ। नेतृत्व चयनमा सहमति जुटाउने प्रयास सफल नभएपछि निर्धारित समयभन्दा केही ढिलो गरी मतदान सुरु गरिएको निर्वाचन समितिले जनाएको छ।