काठमाडौं। देशको राजनीतिक समीकरण फेरि तरंगित भइरहेका बेला तीन प्रमुख नेताको विराटनगर भेटघाटले नयाँ राजनीतिक चर्चा सुरु गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शुक्रबार नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको विराटनगरस्थित निवास पुगेर भेटवार्ता गरेका हुन्।
कोइराला सचिवालयका अनुसार तीन नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम र आगामी रणनीतिका विषयमा छलफल भएको छ। यद्यपि भेटमा कुनै औपचारिक निर्णय भने नभएको जनाइएको छ।
यस भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमबीच प्रमुख दलका नेताहरूबीच संवाद बढाउने प्रयासका रूपमा पनि हेरिएको छ। सरकार, संसद् र विपक्षी भूमिकाबारे भइरहेका बहसकै बीच भएको यो भेटले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी जन्माएको छ।
यस्तै आज कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पनि शेखर कोइरालासँग छुट्टै भेट गरेका थिए। उक्त भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान, संगठनात्मक एकता र आगामी १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल भएको बताइएको छ।




































