काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हालै गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन् ।

भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अधिकांश घाइते सामान्य अवस्थाका भए पनि धेरै गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ । उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी दिइन् । भूकम्पका कारण राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा, भार्गासलगायतका क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । हजारौं भवन भत्किएका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । यसबीच प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र पारिएको छ ।

सयौं स्थानीय स्वयंसेवकले पानी, खाद्यान्न, औषधि, लत्ताकपडा तथा अत्यावश्यक सामग्री वितरण गरिरहेका छन् । विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि स्वयंसेवक परिचालन गर्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ । अमेरिकाले पनि मानवीय सहायता अभियानलाई सहयोग गर्न आफ्नो दक्षिणी कमाण्ड मार्फत सी–१७ ग्लोबमास्टर र सी–१३० हरक्युलिस सैन्य मालवाहक विमान परिचालन गरेको छ । ती विमानमार्फत राहत सामग्री, उद्धार उपकरण तथा आवश्यक जनशक्ति प्रभावित क्षेत्रमा  पुर्याइदैँछ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले भेनेजुएला सरकारसँग समन्वय गरेर आपत्कालीन राहत तथा मानवीय सहायता उपलब्ध गराइरहेको बताएका छन् । यस्तै, फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोँको निर्देशनमा चिकित्सक, उद्धारकर्मी, खोजी कुकुर र भग्नावशेषबाट उद्धार गर्ने विशेषज्ञसहितको विशेष टोली पठाएको छ । यो टोली युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत परिचालन गरिएको हो । स्विट्जरल्यान्डले पनि ८० जना विशेषज्ञ, आठवटा खोजी कुकुर तथा करिब १८ टन उद्धार सामग्रीसहितको ‘स्विस रेस्क्यु चेन’ टोली काराकासतर्फ पठाएको छ । उक्त टोलीले स्थानीय निकायसँग समन्वय गरी भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारमा सहयोग गर्नेछ ।

अन्तर्राष्ट्रिय समुदायबाट राहत, उद्धार तथा मानवीय सहयोग निरन्तर बढिरहेका बेला प्रभावित क्षेत्रमा अझै हजारौं मानिस बेपत्ता रहेको आशंका गरिएको छ । उद्धारकर्मीहरूले भग्नावशेष हटाउने कार्य जारी राखेका छन् । एएनआई