चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको निर्वाचन तालिका पुनः संशोधन गरिएको छ। योसँगै निर्वाचन कार्यतालिका पाँचौं पटक परिवर्तन भएको हो।
संशोधित तालिकाअनुसार पदाधिकारी पदका उम्मेदवारहरूको मनोनयन फाराम वितरण साँझ ६:३० बजेदेखि ७ बजेसम्म हुनेछ। प्रारम्भिक उम्मेदवार नामावली साँझ ७:३० बजे सार्वजनिक गरिनेछ भने दाबी–विरोध दर्ता गर्ने समय राति ८ बजेसम्म तोकिएको छ।
दाबी–विरोधमाथिको छानबिन सवा ८ बजे सम्पन्न गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ८:३० बजेसम्म रहनेछ भने अन्तिम उम्मेदवार सूची साँझ ८:४५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि राति ९१५ बजेसम्म कायम रहनेछ। त्यसपछि राति ९:१५ बजेदेखि मध्यराति १२:१५ बजेसम्म मतदान सञ्चालन गरिनेछ।
मतदान सकिएलगत्तै राति १२:१५ बजेदेखि १:१५ बजेसम्म मतगणना गरिने र अन्तिम परिणाम राति १:३० बजे घोषणा गर्ने कार्यतालिका तय गरिएको छ।
बारम्बार तालिका संशोधन हुनुले महाधिवेशनको निर्वाचन प्रक्रिया थप चासो र चर्चाको विषय बनेको छ।




































