काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको बहस तीव्र बन्दै जाँदा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्।
महाराजगञ्जको चुनदेवीमा स्थापना हुन लागेको उक्त कार्यालय महाधिवेशन पक्षधर नेता–कार्यकर्ताको नियमित भेटघाट, छलफल र रणनीतिक गतिविधिको केन्द्र बन्ने बताइएको छ। विशेष महाधिवेशन बहिष्कार गरेका देउवा, शेखर र कृष्णप्रसाद सिटौला समूह अहिले एउटै मोर्चामा उभिएर अगाडि बढिरहेका छन्।
कांग्रेस संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइरहेका बेला असन्तुष्ट समूहले त्यसलाई स्वीकार नगरेपछि विवाद थप चर्किएको छ। यही तनावबीच छुट्टै कार्यालय खोल्ने निर्णयलाई आगामी महाधिवेशन केन्द्रित शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।
एकातिर पार्टी सभापति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सक्रिय छ भने अर्कोतर्फ पुराना शक्तिशाली समूहहरू समानान्तर संरचना निर्माणतर्फ उन्मुख देखिएका छन्। यसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई थप स्पष्ट बनाएको राजनीतिक वृत्तमा चर्चा छ।




































