काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनसँगै नेतृत्व चयनको दौड रोचक बनेको छ। उपसभापति र महामन्त्री पदका लागि रास्वपामा प्रतिस्पर्धा चर्किएको हो।
निर्वाचित हुने एक महामन्त्री पदका लागि हालका महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झाले दाबी प्रस्तुत गरेका छन्। अर्को महामन्त्री भने सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
यता उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ, डा। तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। सहमहामन्त्रीका तीन पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा। अंकिता यादवले दाबी गरेका छन्।
पार्टीभित्र सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि सहमति जुट्न नसके पदाधिकारी छनोट मतदानमार्फत हुने बताइएको छ। महाधिवेशन नजिकिँदै जाँदा रास्वपाको आन्तरिक शक्ति सन्तुलन र भावी नेतृत्वबारे चासो झन् बढेको छ।




































