काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर विद्यार्थी आन्दोलन चर्किरहेका बेला शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारको बचाउ गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थप गरेर र प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमै सार्वजनिक गरिएको दाबी गरेका छन्।
विद्यार्थीहरूको आन्दोलनप्रति सम्मान रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूमाथि गालीगलौज वा दुर्व्यवहार नगर्न आग्रह गरेका छन्। साथै नतिजाबारे उठेका प्रश्नहरूको अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि रहने विशेष समिति गठन गरिएको जानकारी दिएका छन्।
समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण, प्राप्ताङ्क र डेटा इन्ट्रीको पुनः प्रमाणीकरण गर्नेछ। आन्दोलन चर्किरहेका बेला मन्त्रीको यो अभिव्यक्तिलाई सरकारको औपचारिक बचाउ र विश्वास दिलाउने प्रयासका रूपमा हेरिएको छ।




































