काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आवश्यक योग्यता र अनुभव भएका नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। इच्छुक उम्मेदवारले आगामी २१ दिनभित्र अर्थात् असार ३१ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सिलबन्दी आवेदन बुझाउनुपर्नेछ।
आवेदकले नागरिक लगानी कोष ऐन, २०४७ ले तोकेको योग्यता र अनुभव पूरा गरेको हुनुपर्नेछ। आवेदनसँगै शैक्षिक प्रमाणपत्र, अनुभवका कागजात, नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण तथा दुई प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ।
यस पदका लागि उम्मेदवारले ५ हजार शब्दभन्दा कमको व्यावसायिक कार्ययोजना पनि तयार गरी छुट्टै खाममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्रारम्भिक छनोटमा परेका उम्मेदवारले उक्त कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्नेछ।
आवेदन दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखास्थित राजस्व खातामा जम्मा गरी सक्कल भौचर आवेदनसँगै बुझाउनुपर्नेछ।
मन्त्रालयले झुट्टा विवरण वा नक्कली कागजात पेश गरे कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। पदको पारिश्रमिक र सेवा–सुविधा भने करार सम्झौताअनुसार निर्धारण हुने जनाइएको छ।




































