काठमाडौं। पुराना दलको विकल्प भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमै व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ । उम्मेदवारको नामावलीदेखि इलेक्ट्रोनिक मतदान प्रणालीसम्म विवादित बनेपछि प्रतिनिधि र उम्मेदवारहरूले खुलेर असन्तुष्टि पोख्न थालेका छन् । यति मात्र होइन, आफ्नै सांसदहरूले नेतृत्वको आलोचना गर्दै पार्टीको छवि अन्तर्राष्ट्रिय स्तरमै धुमिल भएको टिप्पणी गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अहिले नेतृत्व चयनको प्रक्रियामा छ । तर चुनावी प्रतिस्पर्धाभन्दा बढी चर्चा मतदान व्यवस्थामाथि उठेका प्रश्नहरूको भइरहेको छ ।इलेक्ट्रोनिक मतदान प्रणाली प्रयोग गरिएको यो निर्वाचनमा उम्मेदवारहरूको नाम न वर्णानुक्रममा राखिएको छ, न उम्मेदवारी दर्ताको क्रमअनुसार । यसले उम्मेदवार र प्रतिनिधि दुवैलाई अन्योलमा पारेको छ ।

कतिपय उम्मेदवारहरूले आफ्नै नाम खोज्न कठिन भएको बताएका छन् भने प्रतिनिधिहरूले आफूले नचिनेका व्यक्तिलाई समेत बाध्य भएर मत दिनुपरेको गुनासो गरेका छन् ।मतदान प्रणालीमा अर्को विवाद खुलातर्फको ६४ सदस्य चयनलाई लिएर देखिएको छ । प्रतिनिधिहरूका अनुसार सबै सिटमा मत नहाली अर्को चरणमा जान नसकिने व्यवस्था राखिएकाले आफूहरूले नचिनेका उम्मेदवारलाई समेत मत दिन बाध्य भएको अवस्था सिर्जना भएको छ ।

सांसद आशिका तामाङले आफूले चाहेको व्यक्तिलाई मात्रै मत दिन नपाएको भन्दै प्रणालीप्रति असन्तुष्टि जनाएकी छन् । प्रतिनिधिहरूले पनि योग्य उम्मेदवार छान्नुभन्दा प्रणाली पूरा गर्न मत हाल्नुपरेको बताएका छन् ।महाधिवेशनस्थलमा अर्को बहस गुटबन्दीको आशंकाले चर्किएको छ । मतदान चलिरहेकै बेला विभिन्न उम्मेदवारहरूको सूची सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत प्रसारित हुन थालेपछि प्रतिनिधिहरूले नेतृत्वको दाबीमाथि प्रश्न उठाएका छन् ।

यहीबीच, पार्टीका सांसद धनञ्जय रेग्मीले सार्वजनिक मञ्चबाटै नेतृत्वमाथि कडा टिप्पणी गरेका छन् । आफूले गर्व गर्ने पार्टीको छवि महाधिवेशन व्यवस्थापनका कारण अन्तर्राष्ट्रिय स्तरमै कमजोर बनेको उनको आरोप छ ।रेग्मीले भरतपुरमा देखिएको अव्यवस्थाबाट देश सञ्चालनको अभ्यास सम्भव नहुने चेतावनीसमेत दिएका छन् । नेतृत्वविरुद्ध बोलेपछि आफू चुनाव हार्न सक्ने अवस्था आए पनि सत्य बोल्न आवश्यक ठानेको उनले बताएका छन् ।

महाधिवेशनलाई नयाँ राजनीतिक संस्कारको नमुना बनाउने अपेक्षा गरिए पनि मतदान प्रक्रिया सुरु भएसँगै उठेका प्रश्नहरूले रास्वपाको संगठनात्मक क्षमतामाथि नै बहस सुरु गराएको छ । पुराना दलमाथि अपारदर्शिता र अव्यवस्थाको आरोप लगाउँदै आएको रास्वपा अहिले आफ्नै महाधिवेशनको व्यवस्थापनबारे कठघरामा उभिएको छ । नेतृत्व चयनको नतिजा जे आए पनि मतदान प्रक्रियामाथि उठेका प्रश्नहरूले भने ‘नयाँ राजनीति’ को दाबीलाई गम्भीर परीक्षणको घेरामा ल्याइदिएको छ ।