काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया नै अलमलमा परेको छ। बुधबार बिहानदेखि मतदान हुने भनिए पनि केन्द्रीय सदस्य उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत सार्वजनिक हुन नसक्दा निर्वाचन थप धकेलिएको हो।
करिब ४ सय जनाले उम्मेदवारी दिएको बताइए पनि निर्वाचन आयोगले अन्तिम संख्या र नामावली सार्वजनिक गर्न सकेको छैन। उम्मेदवारको अन्तिम सूची र फोटो प्राप्त भएपछि मात्रै ई–भोटिङ मेसिनमा अपलोड गर्न ४–५ घण्टा लाग्ने भएकाले मतदान अझै ढिला हुने देखिएको छ।
९९ केन्द्रीय सदस्य चयनपछि पदाधिकारीको छुट्टै मतदान गर्नुपर्ने भएकाले महाधिवेशनको अवधि फेरि लम्बिने लगभग निश्चित भएको छ। तयारी अपुग र व्यवस्थापन कमजोरीका कारण रास्वपाको पहिलो महाधिवेशन नै समयतालिकाभन्दा बाहिर धकेलिएको चर्चा चुलिएको छ।






































