काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा अपनाएपछि पूर्व साझा विवेकशील नेता रविन्द्र मिश्रले त्यसलाई स्वागत गरेका छन्। तर उनले यो अवधारणा नयाँ नभई आफूहरूले वर्षौँअघि नै उठाएको एजेण्डा भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत मिश्रले प्रदेशसभा खारेजी, स्थानीय तहको पुनर्संरचना, गैरदलीय स्थानीय निर्वाचन र विद्यार्थी तथा कर्मचारीका दलीय संगठन विघटनजस्ता विषय पनि साझा विवेकशीलकै पुराना एजेण्डा रहेको बताएका छन्।

रास्वपाले आफ्नो सोचसँग मिल्ने नीति अघि बढाएकोमा खुसी व्यक्त गरे पनि मिश्रले पार्टीले प्रस्तुत गरेको बजेटमा भने ‘सामाजिक लोकतन्त्र’को स्पष्ट छाप नदेखिएको टिप्पणी गरेका छन्।

मिश्रले भनेका छन् , ‘हामीले उठाएको एजेण्डा अरूले अपनाउनु खुसीको कुरा हो, तर व्यवहारमा पनि देखिनुपर्छ।’