काठमाडौं। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनका बीच एउटा अनौठो घटनाले चर्चा पाएको छ। गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कुकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।

प्रहरीका अनुसार गृहमन्त्री गुरुङ महाधिवेशनको कार्यक्रममा सहभागी हुन चितवन पुगेका थिए। उनले विमानस्थल नजिकै रहेको एक होटलमा खाना खाइरहेका बेला अम्लेटभित्र माछाको काँडा फेला परेको थियो। घटनापछि सुरक्षासम्बन्धी संवेदनशीलता र खानाको गुणस्तरबारे प्रश्न उठेपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले घटनाको वास्तविकता बुझ्न होटलका दुई कुकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म कुनै आपराधिक नियत पुष्टि नभए पनि काँडा अम्लेटमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।

सामान्य रूपमा हेर्दा भान्साको लापरबाही जस्तो देखिने यो घटनाले गृहमन्त्रीको सुरक्षा व्यवस्थामाथि समेत बहस सुरु गराएको छ। उच्च पदस्थ व्यक्तिको खानामा यस्ता वस्तु भेटिनुलाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको बताइएको छ।

घटनापछि सम्बन्धित होटल पनि चर्चामा आएको छ भने प्रहरीले खाद्य सामग्री तयारीको प्रक्रिया, प्रयोग गरिएका भाँडाकुँडा तथा किचेन व्यवस्थापनबारे समेत जानकारी संकलन गरिरहेको छ।

अहिलेसम्म प्रारम्भिक अनुसन्धानमा कुनै षड्यन्त्र वा योजनाबद्ध गतिविधिको संकेत नदेखिए पनि प्रहरीले सबै पक्षबाट घटनाको तथ्य खोजिरहेको जनाएको छ। चितवनमा महाधिवेशनको राजनीतिक माहोल चलिरहेकै बेला यो घटनाले थप चर्चा र चासो बढाएको छ।