चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार बन्दसत्र सुरु भएको छ। पार्टीको भावी दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनको आधार तय गर्ने भएकाले बन्दसत्रलाई महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ। सुरुवातमा अनुशासन आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक तथा वित्तीय प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। आर्थिक पारदर्शिता र स्रोत व्यवस्थापनबारे प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन्।

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। देशभर पार्टीको संगठन विस्तार, सदस्यता व्यवस्थापन र आगामी कार्ययोजनाबारे यस प्रतिवेदनमा समीक्षा गरिनेछ।

महाधिवेशनको अर्को महत्वपूर्ण एजेन्डा विधान संशोधन प्रस्ताव हो। सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। पार्टी संरचना, नेतृत्व चयन प्रक्रिया र आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिनिधिहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।

नीतिगत बहसलाई अगाडि बढाउन उपसभापति डा। स्वर्णिम वाग्लेले ‘अर्थ–राजनीतिक प्रस्तावना’ प्रस्तुत गर्नेछन्। मुलुकको आर्थिक अवस्था, राजनीतिक चुनौती र रास्वपाको वैकल्पिक दृष्टिकोणबारे प्रस्तावनामा चर्चा गरिनेछ।

बन्दसत्रको मुख्य आकर्षण भने सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन रहनेछ। लामिछानेले पार्टीको विगत, वर्तमान अवस्था र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्नेछन्। प्रतिवेदनमाथि प्रतिनिधिहरूले खुला छलफल गर्ने कार्यसूची छ।

बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। साथै, महाधिवेशन आयोजक समितिले हालसम्म सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ।

यससँगै निर्वाचन आयोगले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गर्नेछ। तालिका सार्वजनिक भएसँगै उम्मेदवारी दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र मतदानलगायतका प्रक्रिया अघि बढ्नेछन्।

यसरी हेर्दा रास्वपाको बन्दसत्र केवल प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम मात्र नभई पार्टीको भावी नेतृत्व, संगठनात्मक स्वरूप र राजनीतिक मार्गचित्र तय गर्ने निर्णायक मञ्चका रूपमा रहेको छ।