चितवन । रास्वपाको बन्दसत्रमा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी र भोटको चलखेलबारे कडा चेतावनी दिएका छन्। महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले कसैको दबाब, प्रभाव वा सिफारिसमा नभई योग्य उम्मेदवारलाई मत दिन आग्रह गरे।
लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति मौलाउन थालेको संकेतप्रति चिन्ता व्यक्त गर्दै पुरानै शैली दोहोरिए रास्वपाबाट फरक नतिजा ननिस्कने बताए। उनले प्रतिनिधिहरूलाई लक्षित गर्दै भने, “कसैले यहाँसम्म ल्याएको भए धन्यवाद दिनुहोस्, तर भोट चाहिँ राम्रालाई दिनुहोस्।”
उनले आफू कुनै पक्षको उम्मेदवार नबोकेको दाबी गर्दै केन्द्रीय समितिमा पुग्ने व्यक्तिको छनोट विवेकपूर्ण ढंगले गर्न आग्रह गरे। पार्टीभित्र ‘यसलाई भोट देऊ, उसलाई नदेऊ’ भन्ने हल्ला र चलखेलबारे आफूले सुनेको उल्लेख गर्दै त्यस्ता गतिविधि रास्वपाको संस्कृतिविपरीत भएको स्पष्ट पारे।
महाधिवेशनमा नेतृत्वभन्दा बढी केन्द्रीय सदस्य चयनको प्रतिस्पर्धा चर्किरहेका बेला रविको यो अभिव्यक्तिलाई पार्टीभित्र बढ्दो गुटगत प्रभाव रोक्ने प्रयासका रूपमा हेरिएको छ। “गलत प्रवृत्तिको सानो बीउ पनि रोपिनु हुँदैन” भन्दै उनले प्रतिनिधिलाई स्वतन्त्र र निष्पक्ष मतदान गर्न आग्रह गरेका छन्।




































