चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ। बन्दसत्र ढिलोगरी सुरु भए पनि आजैबाट निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध हुने लगभग निश्चित देखिए पनि केन्द्रीय सदस्य पदमा भने कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। महाधिवेशनबाट चयन हुने ९९ केन्द्रीय सदस्यमध्ये ३५ जना प्रदेशगत कोटाबाट र बाँकी ६४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।

रास्वपाले नयाँ विधानमार्फत प्रदेश प्रतिनिधित्व र महिला सहभागितालाई अनिवार्य बनाएको छ। सातै प्रदेशबाट कम्तीमा पाँच–पाँच जना केन्द्रीय सदस्य चयन हुनेछन्, जसमा दुई जना महिला अनिवार्य रहने प्रावधान छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता र मतदान तालिका सार्वजनिक नगरे पनि महाधिवेशनको कार्यतालिका प्रभावित नहोस् भनेर आजै प्रक्रिया सुरु गरिने तयारी भएको स्रोतको दाबी छ।

रास्वपाले भोलिसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेकाले अबको केही घण्टा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र नयाँ नेतृत्वको उदयका लागि निर्णायक बन्नेछ। सभापति पदमा प्रतिस्पर्धा नदेखिए पनि केन्द्रीय सदस्य चयनले आगामी दिनमा पार्टीको शक्ति केन्द्र कसको हातमा पुग्छ भन्ने संकेत दिने राजनीतिक वृत्तको विश्लेषण छ।

‘रवि निर्विरोध, तर केन्द्रीय समितिमा कडा भिडन्त’ भन्ने अवस्था देखिएको रास्वपाको महाधिवेशनले अब पार्टीभित्रका नयाँ अनुहार र प्रभावशाली समूहको वास्तविक हैसियत परीक्षण गर्ने भएको छ।