काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला वर्षहरूमा नेपाली कांग्रेस कमजोर बनाइएको भन्दै पार्टीभित्रकै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

झापामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संस्थापक नेता बीपी कोइरालाले निर्माण गरेको कांग्रेसलाई पछिल्लो ८–१० वर्षमा विभाजित र कमजोर बनाइएको दाबी गरे। अब पार्टीलाई पुनः सुदृढ बनाउन आफूहरू लागेको बताउँदै उनले पार्टी सुधारको अभियानमा अवरोध सिर्जना गर्ने प्रस्ताव र दबाब स्वीकार नगर्ने स्पष्ट पारे।

थापाले भने, “बीपीले बनाएको पार्टीलाई केही वर्षमै छिया–छिया पारियो। अब कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेका छौं, त्यसैले पार्टी हितविपरीत आउने प्रस्ताव मानेर बस्दैनौं।”

उनले पार्टी सदस्यता अध्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई पनि चेतावनी दिए। आगामी महाधिवेशन र वडा अधिवेशनमा सहभागिता जनाउन सदस्यता नवीकरण अनिवार्य रहेको उल्लेख गर्दै अध्यावधिक नगरेकाहरूलाई पार्टीको सिस्टमले नचिन्ने बताए।

थापाको भनाइले कांग्रेसभित्र संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र नेतृत्वको कार्यशैलीबारे नयाँ बहस सुरु गरेको छ। आगामी महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र सुधार र पुनर्गठनको एजेन्डा थप पेचिलो बन्दै गएको देखिएको छ।