चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद रमेश प्रसाईंले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा प्रसाईंले आफू केन्द्रीय सदस्यमा उम्मेदवार रहने र दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्।  

उम्मेदवारी घोषणा गर्दै प्रसाईंले पार्टीका सदस्यहरूले नेतृत्वको कामको निष्पक्ष मूल्यांकन गर्ने बेला आएको बताए। राम्रो काम गर्ने नेतालाई पुरस्कृत र जिम्मेवारी पूरा गर्न नसक्नेलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो।

उनले रास्वपाका सदस्यहरूले सही निर्णय गर्ने विश्वास व्यक्त गर्दै पार्टीलाई संस्थागत रूपमा अझ बलियो बनाउन आफू नेतृत्व तहमा भूमिका खेल्न इच्छुक रहेको संकेत दिए।रास्वपाको महाधिवेशनमा सभापति, केन्द्रीय सदस्य तथा पदाधिकारी चयनको प्रक्रिया जारी रहेकाले नेतृत्वका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढिरहेको छ। 

प्रसाईंको घोषणासँगै सहमहामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। यस्तै सहमहामन्त्रीमा नै यज्ञमणि न्यौपानेले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला पार्टीभित्र चुनावी गतिविधि तीव्र बन्दै गएको छ।