धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर विवाद चर्किएको छ। सरकारको प्रमुख साझेदार दल नेकपा (एमाले) ले बजेटमा असन्तुष्टि जनाउँदै तत्काल संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
धनगढीमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट निर्माण र विनियोजन प्रक्रियामा आफूहरूलाई बेवास्ता गरिएको निष्कर्ष निकालेको छ। बैठकपछि जारी विज्ञप्तिमा बजेट वितरण र योजना छनोटमा एकलौटी ढंग अपनाइएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरिएको छ।
एमालेले बजेटले गठबन्धन सरकारको साझा भावना, सहमति र प्राथमिकतालाई पूर्ण रूपमा लत्याएको आरोप लगाएको छ। पार्टीले आफ्ना सांसदहरूलाई बजेट संशोधनका लागि दबाब सिर्जना गर्न निर्देशन दिँदै माग सम्बोधन नभए सत्ता सहकार्यको औचित्य समाप्त हुने चेतावनी दिएको छ।
एमालेको यो अडानसँगै सुदूरपश्चिम प्रदेश सरकारमाथि राजनीतिक दबाब बढेको छ। बजेट विवाद समाधानका लागि सत्ता साझेदारबीच संवाद हुने सम्भावना रहे पनि सहमति जुट्न नसके प्रदेश सरकार नै संकटमा पर्न सक्ने आकलन गरिएको छ।
बजेट पारित हुनुअघि नै सत्ता साझेदार दलले सरकार छाड्ने चेतावनी दिएपछि सुदूरपश्चिमको राजनीति तातेको छ भने सरकारको स्थायित्वमाथि समेत प्रश्न उठ्न थालेको छ।






































