काठमाडौं। पूर्व जसपा नेता अशोककुमार राईले ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
राई अध्यक्ष रहने गरी ८ पदाधिकारी र २८ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीका उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन्।
अशोक राई यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नयाँ जसपा गठन गरेका थिए। तर पार्टी विभाजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राई नेतृत्वको दललाई कानुनी मान्यता नदिएपछि उनको समूह पार्टीविहीन बनेको थियो। त्यसपछि कानुनी रूपमा पार्टीको अस्तित्व कायम राख्न राई पक्षले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको हो। राईले आफूहरू राजनीतिक रूपमा सक्रिय रहेको र सर्वोच्चको फैसलापछि नयाँ पार्टी दर्ता गर्नु आवश्यक भएको बताएका छन्।
नयाँ समाजवादी पार्टीले समाजवाद, समावेशी लोकतन्त्र, सामाजिक न्याय, संघीयता, सुशासन र समृद्धिलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउने जनाएको छ। आयोगबाट मान्यता पाएपछि देशभर संगठन विस्तार अभियान चलाउने तयारी पनि पार्टीले गरेको छ।






































