रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। उपप्रमुख बस्नेतले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै चालु आवका लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्। जेठ मसान्तसम्म चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड १३ लाख रुपैयाँ गरी कुल ५९ करोड ७ लाख रुपैयाँ खर्च भएको बताइन् ।
यो कुल बजेटको करिब ६० प्रतिशत रहेको उल्लेख गर्दै आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ८८ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उनले बताइन् । यसअघि नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख लब श्रेष्ठले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखिएको बताए । नीति तथा कार्यक्रमअनुसार कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनेछ। ‘नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गरिने तथा योग शिक्षासहितको ‘नागरिक आरोग्य कार्यक्रम’लाई थप प्रभावकारी बनाइने जनाइएको छ। नगरपालिकाका सबै १४ वटै वडामा एक–एक योग केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै रैथाने बाली संरक्षणका विशेष कार्यक्रम सञ्चालन गरिने, किसान परिचयपत्र वितरण सुरु गरिने तथा स्थानीय कृषि उत्पादनलाई काठमाडौंसम्म बजारीकरण गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । दूध उत्पादक कृषकलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिइने पनि नगरपालिकाले जनाएको छ।यस्तै, लघु तथा घरेलु उद्योग प्रवद्र्धनका लागि नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी गर्ने, युवा उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने तथा स्वरोजगारका अवसर विस्तार गर्ने नीति लिइएको छ।
पर्यटन क्षेत्रको विकासका लागि प्रमुख पर्यटकीय गन्तव्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सहयोग गरिने, पर्यटकीय परामर्श कक्ष स्थापना गरिने तथा निर्माणाधीन फोहोर विसर्जन केन्द्रको काम सम्पन्न गर्ने प्रयासलाई आगामी वर्ष पनि निरन्तरता दिइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा आधारभूत सेवा विस्तारलाई समेट्दै समावेशी र दिगो विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।






































