चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चार वर्षे राजनीतिक यात्राको खुलेर प्रशंसा गरेका छन्।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले छोटो समयमै पार्टीले निर्माण गरेको जनविश्वास र जनसमर्थनलाई ‘लोभलाग्दो’ संज्ञा दिए। “स्थापनाको चार वर्षमै रास्वपाले पाएको जनसमर्थन असाधारण छ। यसका लागि रवि लामिछाने र बालेन शाहको नेतृत्वको प्रशंसा गर्नुपर्छ,” उनले भने।
थापाले जनमत प्राप्त गर्नु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै त्यसलाई दीर्घकालसम्म कायम राख्नु नै राजनीतिक दलहरूको वास्तविक परीक्षा हुने बताए। इतिहासमा ठूलो जनसमर्थन पाएर पनि त्यसलाई जोगाउन नसकेका धेरै उदाहरण रहेको उनको संकेत थियो।
उनले रास्वपाको महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै जनताले दिएको विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।




































