चितवन । पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक यात्रालाई नेपालको बदलिँदो राजनीतिक चेतनाको प्रतीक बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलन र संघर्षको परम्परागत बाटोभन्दा फरक ढंगले रास्वपाले जनसमर्थन जुटाएको उल्लेख गरे। आधुनिक प्रविधि र नयाँ राजनीतिक सन्देशमार्फत छोटो समयमै प्राप्त सफलतालाई उनले “नयाँ क्रान्तिको कडी”को संज्ञा दिए।

भट्टराईले चुनावताका चर्चित बनेको ‘चुपचाप घण्टी छाप’ नारालाई अब परिणाममुखी बनाउन सुझाव दिए। “अब त्यो नारालाई ‘चुपचाप सुशासन र विकास’ मा रूपान्तरण गर्नुपर्छ,” उनले भने।

उनले पुराना पुस्ताका नेताहरू अझै पनि परिवर्तनका नयाँ संकेत बुझ्न नसकेको टिप्पणी गरे। समाज परिवर्तनका प्रक्रियालाई बाह्य शक्तिसँग जोडेर व्याख्या गर्ने प्रवृत्तिप्रति संकेत गर्दै उनले परिवर्तनको लहरलाई रोक्न खोज्नु समयको प्रवाहविरुद्ध जानु सरह हुने बताए।