काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणको अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग झण्डै डेढ घण्टा बयान लिएको छ।

आयोग स्रोतका अनुसार शुक्रबार भएको सोधपुछमा श्रेष्ठलाई राहदानी छपाइका लागि गरिएको ठेक्का प्रक्रिया र त्यससँग जोडिएका निर्णयबारे प्रश्न गरिएको थियो। जवाफमा उनले उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

राहदानी छपाइका क्रममा अनियमितता भएको आशंकामा आयोगले यसअघि राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाइसकेको छ।

यसैबीच, प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई समेत बयानका लागि बोलाइएको छ। आयोगले उनीसँग सोधपुछ गर्न म्याद तामेल गरिसकेको जनाएको छ। उच्च राजनीतिक तहसम्म पुगेको यो अनुसन्धानले राहदानी छपाइ प्रकरणको दायरा अझ फराकिलो बन्दै गएको छ।