चितवन । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता बर्षमान पुन अनन्तले रास्वपा र नेकपाबीच धेरै राजनीतिक मुद्दामा समान सोच र लक्ष्य रहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले दुवै राजनीतिक शक्तिले परम्परागत राजनीतिक धारलाई चुनौती दिँदै आफ्नै अलग बाटो बनाएको उल्लेख गरे।
“हामी र तपाईंहरू फरक पृष्ठभूमिबाट आएका हौं, तर परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा धेरै समानता छ,” पुनले भने।
उनले सुशासनको सवालमा नेकपा र रास्वपाबीच पछिल्लो समय निकट सहकार्य हुँदै आएको दाबी पनि गरे। अन्य दलको तुलनामा यी दुई शक्तिबीच यस विषयमा बढी समझदारी देखिएको उनको भनाइ थियो।
पुनले नयाँ र पुराना राजनीतिक शक्तिबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्दै देशमा सुधार र परिवर्तनका एजेन्डा साझा प्रयासबाट मात्र सफल हुने बताए।




































