चितवन । जनमत पार्टीका अध्यक्ष सिके राउतले रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन शाहको खुलेर प्रशंसा गरेका छन्। उनले बालेन प्रधानमन्त्री बनेर मधेशको सपना पुरा गरेको बताए। उनले भने, ‘मधेसीको छोरा प्रधानमन्त्री बन्यो, सपना पूरा भयो’ ।

आइतबार चितवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले प्रधानमन्त्री शाहलाई स्मार्ट, लोकप्रिय, बौद्धिक र स्टाइलिस नेताको रूपमा चित्रण गरे। उनले ठट्टा गर्दै विपक्षीहरूले कुनै दिन प्रधानमन्त्रीले कालो लुगा लगाउन नपाउने गरी ऐन नै माग्न सक्ने टिप्पणी गरे।

“उहाँ यति स्टाइलिस हुनुहुन्छ कि कुनै दिन विपक्षीले कालो ड्रेस लगाउनै नपाउने कानुन ल्याउनुपर्छ भन्न पनि सक्छन्,” राउतले भने।प्रधानमन्त्रीको व्यक्तित्वभन्दा पनि उनको सोच र कार्यशैलीको आफूले बढी सम्मान गर्ने उल्लेख गर्दै राउतले नेपालमा पहिलोपटक मधेसी समुदायको छोराले प्रधानमन्त्री बन्ने अवसर पाएको भन्दै त्यसका लागि समेत धन्यवाद व्यक्त गरे।

राउतको मन्तव्यले महाधिवेशनस्थलमा केहीबेर हाँसो र ताली दुवै बटुलेको थियो।