चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भविष्य तय गर्ने पहिलो राष्ट्रिय महाधिवेशन आइतबार भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। पार्टी स्थापनापछि पहिलोपटक आयोजना गरिएको महाधिवेशनलाई रास्वपाको ‘शक्ति परीक्षण’ र ‘नेतृत्व पुनर्संरचना’ को रूपमा हेरिएको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। सभापति रवि लामिछानेदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा हजारौं कार्यकर्ताको उपस्थितिले भरतपुरको माहोल राजनीतिक रूपमा तातेको छ।

महाधिवेशनले संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। यससँगै पार्टीको भावी नेतृत्व, संगठनको संरचना र आगामी राजनीतिक रणनीति पनि तय हुनेछ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले पहिलो महाधिवेशनमार्फत आफूलाई संस्थागत र व्यवस्थित पार्टीका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। यही कारण महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

अब सबैको नजर नयाँ नेतृत्वको चयन, संगठनात्मक समीकरण र महाधिवेशनबाट आउने राजनीतिक सन्देशतर्फ केन्द्रित भएको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। भरतपुरमा सुरु भएको महाधिवेशनले पार्टीको आगामी राजनीतिक यात्रा कता मोडिने भन्ने संकेत दिनेछ। तीन दिनसम्म चल्ने महाधिवेशनमा नेतृत्व चयनसँगै संगठन पुनर्संरचना र भावी रणनीतिमाथि समेत व्यापक छलफल हुने रास्वपाले जनाएको छ ।