चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भइरहँदा उद्घाटन सत्रमा श्रम संस्कृति पार्टीको उपस्थिति नहुने भएको छ। निमन्त्रणा प्राप्त भए पनि व्यस्तताका कारण सहभागी हुन नसकिने जानकारी श्रम संस्कृति पार्टीले दिएको छ।
पार्टीका सांसद आरेन राईका अनुसार रास्वपाले औपचारिक निम्ता पठाएको भए पनि पूर्वनिर्धारित कार्यक्रमका कारण प्रतिनिधित्व गर्न नसकिएको हो।रास्वपाले महाधिवेशन उद्घाटनमा सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई निमन्त्रणा गरेको थियो। तर अधिकांश दलबाट शीर्ष नेतृत्वभन्दा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्।
उद्घाटन समारोहमा नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने कार्यक्रम छ। राजनीतिक वृत्तमा रास्वपाको पहिलो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।




































