कञ्चनपुर । श्रीमतीमाथि अमानवीय व्यवहार गर्दै तातो तेल खन्याएको आरोपमा फरार रहेका एक युवक पाँच महिनापछि प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि गत वर्ष पुस १५ गते आफ्नै घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएको आरोप छ। घटनामा पीडित महिलाको अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घटना लगत्तै फरार भएका भट्टलाई प्रहरीले लामो खोजीपछि पक्राउ गर्न सफल भएको जनाएको छ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक तथा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने’ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।घटनाले घरेलु हिंसाको गम्भीर रूप उजागर गरेको भन्दै स्थानीयवासीले दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।





































