काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा चितवनको उद्घाटनस्थलमा वर्षाले चुनौती थपेको छ। रातभरको वर्षापछि समारोहस्थल जलमग्न बनेपछि आयोजक टोली पानी निकाल्न र जमेको हिलो सम्याउन व्यस्त देखिएको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला प्रकृतिले पनि परीक्षा लिएको छ ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौर। यही मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन उद्घाटन हुँदैछ। तर उद्घाटनअघि नै वर्षाले आयोजकलाई दौडाउन बाध्य बनाएको छ। गएरातिको वर्षापछि जर्मन ह्याङ्गरभित्रै पानी जम्यो। सहभागी बस्ने मुख्य खण्डको भुइँ हिलाम्मे बनेपछि बिहानैदेखि स्वयंसेवकहरू पानी फाल्न खटिए।
मोटर प्रयोग गरेर पानी निकालियो। त्यसपछि टिपरमार्फत गिट्टी, बालुवा र माटो ल्याइयो। डोजरको सहायताले जमेको पानी र हिलो सम्याउने काम तीव्र पारिएको छ। मुख्य समारोहस्थल रहेको होचो भूभागमा पानी जम्नु नयाँ कुरा होइन। पानी परेसँगै जलमग्न हुने यो क्षेत्रलाई महाधिवेशनअघि व्यवस्थित बनाउन आयोजक टोली निरन्तर खटिएको छ।
तीन वटा सेक्शनमध्ये सबैभन्दा ठूलो मुख्य खण्डमा बढी पानी जमेको थियो। माथिल्लो भाग भने तुलनात्मक रूपमा सुरक्षित देखिएको छ।यता उद्घाटन समारोहलाई विशेष बनाउने तयारी पनि गरिएको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
वर्षाले केहीबेर चुनौती थपे पनि महाधिवेशनको उत्साह भने कम भएको छैन। आयोजकहरू उद्घाटनअघि सम्पूर्ण तयारी पूरा गर्ने दाबी गरिरहेका छन्। प्रकृतिको चुनौतीबीच व्यवस्थापनको परीक्षा दिइरहेको रास्वपा महाधिवेशन स्थल अहिले अन्तिम तयारीमा जुटेको छ।




































