पोखरा । विश्व संगीत दिवसको अवसर पारेर लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
प्रतिष्ठानले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी असार ७ गते ९ जुन २१० रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। संगीतकर्मी, कलाकार, शुभेच्छुक तथा सर्वसाधारण नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न प्रतिष्ठानले आग्रह गरेको छ।
प्रतिष्ठानका पदाधिकारीका अनुसार रक्तदान जीवनदानको अभियानलाई निरन्तरता दिने उद्देश्यले हरेक वर्ष विश्व संगीत दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइएको छ। यस वर्ष पनि विभिन्न कलाकार, सांगीतिक क्षेत्रसँग आबद्ध व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष माया गुरूङले जनाएकी छन् ।अध्यक्ष माया गुरूङले प्रतिष्ठानले संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सेवासँग पनि जोडिनुपर्ने सन्देश प्रवाह गर्न रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको र कार्यक्रमबाट संकलित रगत उपचारका क्रममा रगत अभाव झेलिरहेका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास लिइएको बताईन् ।
रक्तदान कार्यक्रम सफल बनाउन सम्पूर्ण कलाकार, संगीतप्रेमी, संघ–संस्था तथा आम नागरिकलाई उपस्थित भई सहयोग गर्न आयोजकले अनुरोध गरेको छ। विश्व संगीत दिवस विश्वभर संगीतको महत्व, सिर्जनशीलता र सांस्कृतिक विविधताको सम्मानस्वरूप प्रत्येक वर्ष जुन २१ मा मनाइने गरिन्छ। सोही अवसरलाई सामाजिक सेवासँग जोड्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम बिहान ७ बजेदेखि पृथ्वी चोक पोखारामा सुरू हुने छ ।
रक्तदान सँगसँगै बिबिध साँस्कृतिक कार्यक्रम रहने छ । जस्मा ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।






































