काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि बुधबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल चलिरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क) साम्पाङ ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्न खोजेका थिए। तर, सभामुख डोलप्रसाद अर्यालले संसदीय प्रक्रिया उल्लेख गर्दै उनलाई बोल्न अनुमति दिएनन्।
सभामुखले रोकेपछि असन्तुष्ट बनेका श्रम संस्कृति पार्टीका सांसदहरूले संसदको वेल घेराउ गर्दै विरोध जनाएका थिए। विरोध जारी रहेपछि बैठकको कार्यसूची प्रभावित बनेको थियो।संसदीय अवरोध हट्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
साना दलको आवाज दबाइएको भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको छ भने संसदमा देखिएको यो घटनाले फेरि एकपटक प्रक्रियागत विवादलाई चर्चामा ल्याएको छ।




































