काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सञ्चालन भइरहेको पुनर्गठन अभियान कुनै पनि आरोप, आलोचना वा अवरोधका बाबजुद सफल हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनअपेक्षाअनुसार रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान अघि बढाइएको उल्लेख गरेका छन्। उनले एमाले कार्यकर्ता र समर्थकहरूको साथले अभियानले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरेका छन्।
पोखरेलले व्यक्तिगत कारणले अभियानका कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसकेको पनि बताएका छन्। उनकी धर्मपत्नी मीराको स्वास्थ्यमा समस्या देखिएकाले उपचार र पारिवारिक जिम्मेवारीमा व्यस्त रहनुपरेको उनको भनाइ छ।
एमालेले हाल संगठनात्मक पुनर्गठनका लागि देशभर सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। प्रदेश, जिल्ला र केन्द्रीय तहका नेताहरूबाट प्राप्त सुझावका आधारमा पार्टी संरचना र कार्यशैलीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताइएको छ।




































