काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिबाट ५ हजार रुपैयाँ र पर्यवेक्षकबाट २ हजार रुपैयाँ अतिरिक्त शुल्क लिने निर्णय गरेको हो।

रास्वपाका अनुसार महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। आर्थिक अवस्था कमजोर भएका सदस्यहरूलाई सहभागी हुन सहज बनाउन सहायता कोषसमेत सञ्चालन गरिने जनाइएको छ।

पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। रास्वपा स्थापना भएको चार वर्ष पूरा भएको अवसर पारेर महाधिवेशन गर्न लागिएको हो।

महाधिवेशन व्यवस्थापनका लागि मूल आयोजक समितिसहित १८ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र बनाइएको पार्टीले जनाएको छ।