काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूले खाना नपाएको र बालबालिकाहरूको पढाइसमेत प्रभावित भएको विषय संसदमा उठाएका छन्। 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको सुकुम्बासी व्यवस्थापन अभियान मानवीय संवेदनाभन्दा बाहिर गएको टिप्पणी गरे। विभिन्न स्थानमा विस्थापित परिवारहरू भोकभोकै बस्न बाध्य भएको र बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको उनले बताए।

केसीले पछिल्ला केही घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरे। कीर्तिपुरमा भोजराज दर्जीको मृत्यु, बागमतीमा हामफालेका इन्द्रबहादुर राई, झुन्डिएको अवस्थामा भेटिएका १७ वर्षीय रविन तामाङ तथा शान्तिनगरमा एक महिलाको मृत्युजस्ता घटनाले प्रभावित समुदायमा त्रास बढेको उनको भनाइ थियो।

उनले सुकुम्बासीमाथि दबाब र आतंकको वातावरण सिर्जना भएको आरोप लगाउँदै यसबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले समेत चासो व्यक्त गरिरहेको बताए।

सांसद केसीले विस्थापित परिवारहरूको समस्या समाधान गर्न र उनीहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरे।