काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सामाजिक सञ्जालमा महिला सांसदहरूलाई लक्षित गरेर भइरहेको साइबर बुलिङप्रति चिन्ता व्यक्त गरेकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसँग सामान्य रूपमा हाँसेको विषयलाई अनावश्यक रूपमा उचालेर महिला सांसदहरूको चरित्रमाथि प्रश्न उठाइएको बताइन्। यस्तो प्रवृत्तिले महिला प्रतिनिधिहरूलाई असहज बनाएको उनको भनाइ थियो।
बरालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले राजनीतिक र संसदीय गतिविधिमा दोहोरो मापदण्ड देखिएको आरोपसमेत लगाइन्। सत्ता पक्षका नेताहरूका विवादास्पद अभिव्यक्तिप्रति मौनता देखिने तर विपक्षीले प्रश्न उठाउँदा आलोचना हुने अवस्था रहेको उनको टिप्पणी थियो।
भाषणका क्रममा उनले प्रयोग गरेको ‘छाडातन्त्र’ शब्दप्रति सांसद इन्दिरा राना मगरले आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेकी थिइन्।






































