विराटनगर । भारतले नेपाली चियाको आयातमा कडाइ गरेपछि पूर्वी नेपालका चिया उद्योग संकटमा परेका छन्। इलामका ५३ वटा चिया उद्योग बन्द भइसकेका छन् भने झापाका थप ३६ उद्योग पनि बन्द हुने तयारीमा छन्।

चिया टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो पत्ती बेच्न सकेका छैनन्। धेरै ठाउँमा किसानले बोटमै चिया खेर फाल्नुपर्ने अवस्था आएको छ।उद्योग बन्द हुँदा करिब ७० हजार मजदुरको रोजगारीसमेत प्रभावित भएको छ। मजदुर संगठनका नेताहरूले मजदुर र उनीहरूका परिवारको दैनिकी नै संकटमा पर्ने चेतावनी दिएका छन्।

चिया व्यवसायीहरूका अनुसार भारतले गुणस्तर परीक्षणको नाममा नयाँ प्रक्रिया लागू गरेपछि नेपाली चिया निर्यात रोकिएको हो। निर्यात हुन नसकेपछि तयार चिया गोदाममै थन्किएको छ। नेपालमा वार्षिक करिब १३ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ। तर अहिले बजार बन्दजस्तै हुँदा उद्योगी, किसान र मजदुर सबै प्रभावित भएका छन्। व्यवसायीहरूले समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार भारतमाथिको निर्भरता घटाउन नेपालमै चिया लिलामी केन्द्र (अक्सन बजार) सञ्चालन गर्न सके वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोज्न सजिलो हुने थियो।

चिया क्षेत्रका सरोकारवालाहरूले तत्काल समाधान नखोजिए नेपालको प्रमुख निर्यातजन्य कृषि उद्योगमध्ये एक चिया उद्योग गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।