काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामका चिया किसान र उद्योगी गम्भीर संकटमा पर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री चिया पसलमा पुगेर चिया पिउन समय निकाल्ने तर चिया उद्योग र किसानको समस्या समाधान गर्न फुर्सद नपाएको टिप्पणी गरे।
भारतले लागू गरेको नयाँ मापदण्डका कारण दर्जनौँ चिया उद्योग बन्द भएका छन् भने किसानले उत्पादन गरेको हरियो चिया खेर जान थालेको छ। उद्योग बन्द हुँदा हजारौँ श्रमिकको रोजगारीसमेत प्रभावित भएको राईले बताए।
उनले सरकारसँग चिया निर्यात सहज बनाउन, परीक्षण प्रयोगशाला स्थापना गर्न र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि तत्काल पहल गर्न माग गरेका छन्।






































