काठमाडौं। महिला फुटबल टोलीलाई एशियाली खेलकुदमा सहभागी गराउन एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले बजेट अभावको बहानामा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गर्न नहुने बताए। भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन भइसकेको अवस्थामा तत्काल आवश्यक बजेट व्यवस्थापन गर्न उनले माग गरे।
त्यस्तै, सन् २०२६ को विश्वकप फुटबल हेर्न दर्शकसँग ९९९ रुपैयाँ अतिरिक्त शुल्क उठाउने विषयको पनि उनले विरोध गरे। आम नेपालीले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा विश्वकप हेर्न पाउने व्यवस्था गर्न सरकारसँग उनले आग्रह गरेका छन्।






































