काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं र राप्रापा परित्याग गरेका धवल शम्शेर राणा नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्। यसका लागि उनीहरूले २४ वटा विभिन्न समिति गठन गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका प्रसाईं र राप्रपा परित्याग गरेका राणाले नयाँ पार्टी स्थापना गर्ने तयारीस्वरूप जिम्मेवारी बाँडफाँट तथा परिचयात्मक कार्यक्रमसमेत सम्पन्न गरेका छन्।
गठन गरिएका समितिमध्ये कार्यदल समितिको संयोजकमा मुकुन्द श्याम गिरी, वार्ता समितिमा राजु आचार्य, सचिवालय समितिमा सगुन सुन्दर लावती र विधान मस्यौदा समितिमा माधव कल्पितलाई जिम्मेवारी दिइएको छ।
यस्तै आर्थिक समितिको संयोजकमा दिलविकास भण्डारी, जेनजी संयोजन समितिमा दिपिका भट्ट, सञ्चार समितिमा क्षितिज सापकोटा र कानुनी परामर्श समितिमा महेन्द्रजंग शाही चयन भएका छन्।
त्यसैगरी महिला, युवा, भूपू सैनिक, अन्तर्राष्ट्रिय सम्पर्क, प्रवास, खेलकुद, सुकुम्बासी, वातावरणलगायत विभिन्न विभाग तथा समितिहरू पनि गठन गरिएको छ।
प्रसाईं र राणाले यसअघि मलमासका कारण पार्टी घोषणा स्थगित गरिएको बताएका थिए। असार १ गतेदेखि मलमास समाप्त भइसकेकाले अब छिट्टै नयाँ पार्टी घोषणा हुन सक्ने अनुमान गरिएको छ।






































