प्यूठान । प्यूठानमा विद्यालयबाट घर फर्किरहेका दुई नाबालक दाजुभाइ खहरे खोलामा आएको बाढीमा बग्दा मृत्यु भएको छ। नौबहिनी गाउँपालिका–५ का १० वर्षीय मिलन खत्री र ७ वर्षीय विमल खत्रीको ज्यान गएको हो।

मंगलबार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्दै गर्दा दाजुभाइ बाढीमा बगेका थिए। उनीहरू स्थानीय यामबहादुर खत्रीका छोराहरू हुन्।

काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्ययनरत मिलन कक्षा ३ मा र विमल कक्षा १ मा पढ्दै आएका थिए। मंगलबार दिउँसो करिब ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा उनीहरू बाढीमा परेका थिए।

घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। भाइ विमलको शव मंगलबार साँझ नै फेला परेको थियो भने दाजु मिलनको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

वडा सदस्य कुलबहादुर खत्रीले मंगलबार साँझ साढे ६ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना तथा इलाका प्रहरी कार्यालय लुङबाङबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजी तथा उद्धारका लागि खटिएको थियो।

एकै परिवारका दुई छोराको असामयिक मृत्यु भएपछि खत्री परिवार शोकमा डुबेको छ। गाउँभरि शोक छाएको छ भने विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयवासी स्तब्ध बनेका छन्।

केही समयअघि मात्रै छिमेकी जिल्ला रोल्पामा पनि विद्यालयबाट घर फर्किरहेका दुई बालक खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो। मनसुन सक्रिय भएसँगै साना खोला तथा खहरेहरू समेत जोखिमपूर्ण बन्दै गएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।