प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दुई दाजुभाइ मृत फेला परेका छन् ।
आकस्मिक भेलमा पर्ने दाजुभाई मध्ये एक मिलन खत्री थिए भने अर्कोचाहिँ बिमल खत्री थिए। प्रहरीले यी दुई दाजुभाईको शव फेला परेको जनाएको छ। जनता प्राथमिक विद्यालयमा कक्षा १ र कक्षा ३मा अध्ययनरत यी दुई दाजुभाई, कान्छो भाई बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ ।
त्यस्तै उनका दाइ, मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले बताएका छन् ।
भेलले बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीय बासिन्दा संयुक्त रूपमा उद्धारमा खटिएका थिए। यस बारे प्रहराद्धारा थप अनुसन्धान भइरहेको छ।






































