काठमाडौं। देशकै सबैभन्दा ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयभित्र वर्षौंदेखि चलिरहेको एउटा ठूलो बेथिति अहिले पर्दाफास भएको छ। अध्ययन बिदाको सुविधा लिएर विदेश पुगेका सयौं प्राध्यापक फर्किनुपर्ने समय सकिँदा पनि नफर्किएको मात्रै होइन, राज्यको करोडौं रकम समेत जोखिममा परेको खुलासा भएको छ।
छानबिन समितिको प्रतिवेदनले चकित पार्ने तथ्य बाहिर ल्याएको छ। अध्ययन बिदाको नाममा ३९८ जना प्राध्यापकले नियम उल्लंघन गरेको देखिएको छ। १९१ जना बिदा सकिएपछि सेवामै फर्किएनन् भने २०७ जनाले अध्ययन सम्पन्न गरेको प्रमाणसमेत पेश गरेका छैनन्।
सबैभन्दा गम्भीर कुरा, यस प्रकरणबाट त्रिभुवन विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। अर्थात् राज्यकोषबाट तलब–भत्ता लिएर विदेश पुगेका धेरै शिक्षकले विश्वविद्यालयसँग गरेको प्रतिबद्धता नै तोडेका छन्।
नियमअनुसार अध्ययन बिदा लिने शिक्षकले फर्केर कम्तीमा ३ देखि ५ वर्ष सेवा गर्नुपर्छ। यदि सेवा नगरे बिदा अवधिभर लिएको तलब–भत्ता ब्याजसहित फिर्ता गर्नुपर्ने व्यवस्था छ। तर धेरैले न सेवा गरे, न रकम तिरे।
अब त्रिवि पनि आक्रामक बनेको छ। सार्वजनिक सूचना जारी गर्दै सम्पर्कविहीन शिक्षक तथा कर्मचारीलाई १५ दिनको अन्तिम अल्टिमेटम दिइएको छ। तोकिएको अवधिमा सम्पर्कमा नआए कानुनी कारबाही र असुलउपर प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
यता दबाब बढ्दै जाँदा केहीले रकम फिर्ता गर्न थालेका छन्। हालसम्म ५० जनाले ११ करोड ८४ लाख रुपैयाँ बुझाइसकेका छन्। रकम फिर्ता गर्ने सूचीमा वर्तमान सांसदसमेत परेका छन्। अध्ययन बिदा लिएर पूरा समय काम नगरेका सांसदलेसमेत रकम फिर्ता गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेपाली कांग्रेसका सांसदले तलब–भत्ता फिर्ता गरेका हुन् ।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले १५ दिनको अन्तिम चेतावनी दिएको छ। अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा.जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेर अन्तिम पटक १५ दिनको समय दिइएको हो ।
तोकिएको अवधिमा सम्पर्कमा नआए कानुनी कारबाही र रकम असुलउपर प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ। सरकार र शिक्षा मन्त्रालयसमेत सक्रिय बनेपछि वर्षौंदेखि थन्किएको यो प्रकरण अब निर्णायक चरणमा पुगेको छ।
तर मुख्य प्रश्न अझै जीवित छ-राज्यको पैसा खर्च गरेर अध्ययन गर्न गएका सयौं प्राध्यापक कहाँ छन् रु किन विश्वविद्यालयलाई धोका दिइयो रु र यति ठूलो बेथिति वर्षौंदेखि चलिरहँदा जिम्मेवार निकाय किन मौन बस्यो रु
शिक्षा सुधारका भाषण धेरै सुनिए, तर अब त्रिविले परिणाम देखाउनुपर्ने बेला आएको छ। अन्यथा अध्ययन बिदाको नाममा भइरहेको यो ‘ब्रेन ड्रेन’ र अर्बौंको क्षति नेपालको उच्च शिक्षामाथिको सबैभन्दा ठूलो घोटालामध्ये एकका रूपमा दर्ज हुन सक्नेछ ।






































