काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथिको बहस चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलाल सरकारमाथि कडा रूपमा प्रस्तुत भएका छन्।
मंगलबार संसदमा बोल्दै दुलालले बजेटमा योजना स्पष्ट रूपमा नदेखिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले आरोप लगाए कि सांसदहरूले मन्त्रालयमा दर्ता गराएका धेरै योजना रातो किताबमा समावेश गरिएनन्। बरु सरकारले ब्लक बजेट को नाममा रकम राखेर वास्तविक योजना लुकाउने काम गरेको छ।
दुलालले बजेट विनियोजन प्रक्रिया पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै विकासका योजनाहरू स्पष्ट रूपमा सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। उनले विगतका सरकारहरूले देशको विकासका लागि दूरगामी महत्वका परियोजना अघि बढाएको दाबी पनि गरे। हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौंका फराकिला सडक तथा ऊर्जा क्षेत्रमा १० हजार मेगावाट उत्पादनको लक्ष्य जस्ता योजना त्यसकै उदाहरण भएको उनको भनाइ थियो।
सरकारको बजेट निर्माण शैलीप्रति असन्तुष्टि जनाउँदै दुलालले विकास योजनाको नाममा अस्पष्टता बढेको टिप्पणी गरे। साथै उनले मेलम्ची–इन्द्रावती नदी एकीकृत संरक्षण आयोजना सञ्चालन गर्न र मेलम्ची क्षेत्रका विभिन्न सडक आयोजनालाई बहुवर्षीय ठेक्कामार्फत अघि बढाउन माग गरे।






































