काठमाडौं । नेपाल राष्ट्र बैंकको संरचनामा ठूलो परिवर्तन प्रस्ताव गरिएको छ। विभिन्न दलका सांसदहरूले राष्ट्र बैंकमा हाल रहेका दुईको सट्टा तीन जना डेपुटी गभर्नर राख्ने संशोधन प्रस्ताव दर्ता गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा र राप्रपाका सांसदहरूले संसदमा दर्ता गरेको संशोधनमा थप एक डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरबाट ल्याउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
हालको कानुनअनुसार राष्ट्र बैंकभित्र लामो अनुभव भएका कर्मचारी मात्र डेपुटी गभर्नर बन्न पाउने व्यवस्था छ। तर नयाँ प्रस्तावले विश्वविद्यालयका प्राध्यापक, बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत वा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत अनुभवी व्यक्तिलाई समेत डेपुटी गभर्नर बन्ने बाटो खोल्नेछ।राष्ट्र बैंकलाई अझ समावेशी, व्यावसायिक र प्रतिस्पर्धी बनाउन बाह्य विज्ञको प्रवेश आवश्यक भएको सांसदहरूको तर्क गरेका छन् ।
यस्तै, राष्ट्र बैंकको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि संशोधनमा समेटिएको छ। हाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद रिक्त रहेको अवस्थामा आएको यो प्रस्तावले केन्द्रीय बैंकको भावी संरचना र नेतृत्वबारे नयाँ बहस सुरु गराएको छ।






































