काठमाडौं। बरु हामी भोकै मर्छौं, हाम्रा बालबच्चालाई बचाइदिनुस्, चुल्हो नबलेको आज तिन दिन भयो । उनको बोली पुरा भएन । यो आवाज कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बसेका सयौं सुकुम्बासी मध्यकी एक अधबैशे महिलाको हो । रास्वपा सरकार आएपछि देश कायापलट नै हुन्छ भनेर चुनावमा चुपचाप घण्टी छाप लागाउनेहरुमाथि तिनै जनप्रतिनिधिले आज भोट बैँक बनेका सर्वहारा सुकुम्बासीको भोको पेटमा लात्तो हानेको छ भन्दा फरक नपर्ला ।
देशको राजधानी काठमाडौं। जहाँ हरेक दिन ठुला ठुला विकासका योजना सुनाइन्छन्, समृद्धिका सपना बाँडिन्छन्, यही राजधानीको एउटा कुनामा आज घरबारविहिन बनेका सयौं नागरिक भोकसँग युद्ध लडिरहेका छन्। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बसिरहेका २ सय ७७ जना सुकुमवासीका लागि पछिल्ला तीन दिन नर्कभन्दा कम छैनन्।
भान्साको चुल्हो निभेको छ। भातको गन्ध हराएको छ। त्यतिमात्र होइन तिर्खाले राधास्वामी होल्डिङ सेन्टर काकाकुल छटपटाए जसरी छटपटाईरहेछ । बालबालिकाको रुवाइ भोको आर्तनाद चिच्चाइरहेको छ । यसै विचमा एउटी आमाको आँखाबाट आँसु झर्दै थियो। उनको स्वर काँपिरहेको थियो- हामीलाई केही चाहिँदैन, बरु हामी भोकै मरौंला तर हाम्रा साना छोराछोरीलाई बचाइदिनुस् ।
यो केवल एउटा वाक्य होइन। यो राज्यप्रतिको पीडा हो। अपमान हो । यो भोकले थिचिएको नागरिकको अन्तिम चित्कार हो। दुई महिनाअघि नदी किनारबाट हटाइएका यी परिवारलाई सुरक्षित आश्रय दिने वाचा गरिएको थियो। तर आज उनीहरू सोधिरहेका छन्— घर खोसियो, अब भोकमा एक गास र तिर्खामा पनि खोसिने हो ?
उनी भन्छिन् । भोकका कारण कतिपय बालबालिका विद्यालय जानसकिरकेका छैनन्। कतिपय बिरामीले औषधि खान पाएका छैनन् । कतिपय वृद्धहरू रातभर पानी पिएर सुते। र केही आमाबुबाले आफ्ना बच्चालाई झुटो आश्वासन दिए बाबु, खाना आउँछ रे। तर खाना आएन। खाना आउने आशासंगै पलाएका कलिला बालबालिकाका रहर रहरमै सीमित रहे। समय बित्यो। र भोक झन् बढ्दै गयो। रातभर छटपटीले सताइरह्यो ।
यता जिम्मेवारीको खेल सुरु भएको छ। महानगर भन्छ- समस्या व्यवस्थापनको हो। आश्रम भन्छ- हाम्रो जिम्मेवारी होइन। तर भोकले छटपटाइरहेका बालबालिकालाई न व्यवस्थापन थाहा छ, न जिम्मेवारी। उनीहरूलाई थाहा छ त केवल एउटा कुरा-उनीहरू भोकाएका छन्।
आज सबैभन्दा ठूलो प्रश्न यही हो-जब राज्यले नागरिकको बास खोस्छ, के उसको पेट भर्ने जिम्मा पनि राज्यकै हुँदैन ? जब साना बालबालिका भोकले रोइरहेका हुन्छन्, त्यतिबेला कागजी जिम्मेवारीभन्दा ठूलो मानवता हुँदैन। राजनीति पछि गरौंला। दोषी को हो पछि खोजौंला। तर आज यदि कुनै बच्चा भोकले बेहोस हुन्छ भने त्यसको जिम्मेवारी कसले लिन्छ ? भोकले न कानुन बुझ्छ, न राजनीति। भोकले केवल पीडा दिन्छ। र अहिले राधास्वामी होल्डिङ सेन्टरमा त्यही पीडाले मानवताको परीक्षा लिइरहेको छ।
देशको राजधानीमा विकासका भाषण गुञ्जिरहेका छन् तर यही राजधानीमा आज एउटा बच्चा भोकै सुतिरहेको छ। यो रिपोर्ट मात्र होइन, राज्यको अन्तरआत्मामाथिको प्रश्न हो।राज्यको आश्वासन कहिलेसम्म हो रु कहिले पाउँछन् राज्यबाटै उपेक्षित नागरिकले न्याय ?






































