काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यानलगत नमुनामतपत्रको माग गरेपछि कर्णालीको अधिवेशनमा विवाद उत्पन्न भएको छ । प्यानलगत मत मागेको नमूना मतपत्र वितरण गरिएपछि सभापतिका प्रतिस्पर्धीले घोर आपत्ति जनाएका हुन् । 

विरेन्द्रनगरमा तीन दिन देखि जारी पहिलो अधिवेशनमा सभापतिका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो प्यानलका उम्मेदवारलाई जिताउने गरी नमूना मतपत्र वितरण गरेपछि विवाद उत्पन्न भएको हो । 

पहिलो चरणमा सभापति र प्रदेश सदस्यका लागि हुने मतदानमा खड्काले आफू पक्षीय उम्मेदवारमा टिक लगाएर मत मागेको नमूनापत्र सार्वजनिक भएको स्रोतले बतायो। सभापतिको उम्मेदवारमा थप दुई जना स्नेहा उपाध्याय नेपाल र नन्दकिशोर बस्नेत छन् । सभापतिका उम्मेदवार बस्नेतले प्यानल बनाएर मत मागिएको प्रति आपत्ति जनाए । प्यानल बनाएर उम्मेदवारलाई मत मागिएको भन्दै उनले नयाँ दलमा पुरानै प्रवृत्ति देखिनु आपत्तिजनक भएको बताए। 

प्रतिनिधि विवादले रोकिएको मतदान प्रक्रिया मंगलबार विहानबाट सुरु भएको  रास्वपाले जनाएको छ ।