काठमाडौं। प्रतिनिधिसभामा आइतबार अनौठो दृश्य देखियो । बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्न रोस्टममा पुगेका एमाले सांसद राजेन्द्रकुमार राईले भाषण दिनुको सट्टा मन्त्रीहरूको उपस्थिति माग्दै मौन विरोध जनाए ।

९ वटा मन्त्रालयको बजेटमाथि एकैसाथ छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू संसद्मा उपस्थित नभएको भन्दै राईले आपत्ति जनाए । उनले आफूले उठाउने प्रश्न र सुझाव सुन्ने मन्त्री नै नहुँदा बोल्नुको कुनै अर्थ नरहने तर्क गरे । ‘संसद् विधिअनुसार चल्ने हो भने सम्बन्धित सबै मन्त्री उपस्थित हुनुपर्छ,’ भन्दै राई रोस्टममै अडिग रहे । सभामुखले पटक–पटक बोल्न आग्रह गरे पनि उनले आफ्नो अडान छाडेनन् । बरु मन्त्रीहरू उपस्थित भएपछि मात्रै धारणा राख्ने बताए ।

संसद्मा पुराना राजनीतिक दलहरूले स्थापित गरेको कार्यशैलीकै कारण जनताले नयाँ विकल्प खोज्न बाध्य भएको टिप्पणी गर्दै राईले संसदीय अभ्यासमा सुधार आवश्यक रहेको संकेत गरे । रोस्टममा सांसद मौन बसेपछि सदनको कारबाही नै प्रभावित बन्यो । अन्ततः सभामुख डोलप्रसाद अर्यालले परिस्थितिलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्‍यो । मन्त्रीहरूको जवाफदेहिता र संसदीय उत्तरदायित्वको विषयलाई उनको मौन विरोध फरक तरिकाले हेरिएको छ ।